सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिए।
शपथपछि सूचना तथा सञ्चारमन्त्री डा तिमिल्सिनाले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिए। उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।
सञ्चारमन्त्री तिमिल्सिनाले बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित गर्ने गरी कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले विज्ञापन बोर्डको वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको गम्भीर समीक्षा गरी सुधारका स्पष्ट योजनासहित काम गर्नुपर्ने बताए।
विद्यमान कानुन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले बोर्डले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताए।
लोककल्याणकारी विज्ञापन वितरणलाई समेत वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र विधिसम्मत बनाउन आवश्यक रहेको उनले बताए। लोककल्याणकारी विज्ञापन वितरणमा पारदर्शिताको विषयमा महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाउँदै आएको सन्दर्भ उल्लेख गर्दै उनले सार्वजनिक स्रोतको पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसँग सम्बन्धित नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई केन्द्रमा राख्दै विज्ञापन क्षेत्र सुधारका लागि नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताए। नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सञ्चालनलाई प्रभावकारी बनाउन सक्रियतापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाल विज्ञापन संघका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठसँग विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो अनुभव छ। उनले काठमाडौँस्थित किङ्ग्स कलेज र डन बोस्को कलेजलगायत शैक्षिक संस्थामा प्राध्यापनसमेत गरे।












