मोरङको धनपालथान गाउँपालिका–४ आनन्द इँटाभट्टानजिकै मिनी ट्रकले बुधबार राति मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।
रंगेलीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ क २१० नम्बरको मिनी ट्रकले बाटोमा रोकिराखेको को ३ प २१८९ नम्बरको मोटरसाइकललाई राति ८ः५५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक धनपालथान–४ का अन्दाजी ४० वर्षीय प्रकाश मण्डलको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए।
न्यौपानेका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनसाथ राति ९ः३५ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको उनले बताए।
दुर्घटनापछि ट्रकसहित चालक मोरङको कटहरी गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विष्णु ताजपुरियालाई प्रहरीले कटहरी–४ बाट नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रंगेलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।












