गृहमन्त्री सुधन गुरुङले जनताबाट निर्वाचित भएर पदमा पुगेपछि उनीहरूको सम्मान गर्न नसक्ने व्यक्तिले फेरि निर्वाचनमा उम्मेदवार बन्नुको औचित्य नरहेको बताएका छन्।

शनिबार इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभालाई सम्बोधन गर्दै उनले नेताहरू जनताभन्दा माथि नभई जनताको सेवक हुनुपर्ने बताए।

जनताले दिएको जिम्मेवारीअनुसार नेताहरूले उत्तरदायी भएर काम गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टी वा झन्डाभन्दा देश माथि रहेको धारणा राखे । राजनीतिक आस्था फरक भए पनि सबै नागरिकलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो।

गृहमन्त्री गुरुङले जनताको विश्वास र समुदायको साथलाई सम्मान गर्दै सरकारले सुशासन र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वर्तमान अवस्थालाई इतिहासले दिएको अन्तिम अवसरका रूपमा लिएको पनि बताए।