ऐतिहासिक पाशुपति क्षेत्रमा ‘मचाती’ त्रिशूल जात्रा सम्पन्न भएको छ। प्रत्येक वर्ष असार कृष्ण पक्षको भलभलाष्टमीका दिन मनाइने ऐतिहासिक त्रिशूल जात्रा वर्षातका बाबजुद पनि सम्पन्न भएको हो।
बिहीबार जय मङ्गला बछलेश्वरी डबली, पशुपति वज्र घर र जयवागेश्वरी परिसरमा रहेको सत्तलबाट जात्रा निकालिएको थियो। तीन वटा रथसहित नगर परिक्रमा गराई जात्रा सम्पन्न भएको हो।
यो जात्रामा बालबालिकालाई खटमा राखी बोकेर बाजागाजाका साथ नगर परिक्रमा गराउने प्रचलन रहेको स्थानीय बुद्धिजीवी मुकुन्द वैद्यले बताए।
जात्रा जयवागेश्वरी पुगेपछि त्यहाँबाट पनि दुई बालिकालाई कुमारी र एक बालकलाई कुमारको रूपमा खटमा राखी जात्रामा सम्मिलित गराइन्छ। त्यसपछि तीन वटै खटलाई सिफलको उकालो चलँपास्सम्म पुराई त्यहाँबाट फर्काएर नगर परिक्रमा गराइसकेपछि आर्यघाटमा जात्रा समापन गरिने वैद्यले बताए।
बन्धुदत्त आचाजुको छोराको शवको प्रतीकलाई भष्मेश्वरी राजराजेश्वरीमा सेलाइन्छ। देवमाला वंशावलीमा यो जात्रा राजा अमर मल्लले नेपाल संवत् ६३४ देखि चलाएको पाइन्छ। नेपालका आराध्यदेव भगवान् श्री पशुपतिनाथ पुस्तकमा भने यो जात्रा राजा यक्ष मल्लले नेपाल संवत् ६३४ ‘वि.सं. १५७००’ मा चलाइएको उल्लेख गरिएको छ।
मचाति जात्राका लागि वैशाख शुक्ल पूर्णिमा बुद्ध जयन्तीका दिन जय बागेश्वरी देवीको प्रवर्द्धन पूजाको रात कुमार–कुमारी छान्ने परम्परा रहेको छ।