‘सुरक्षित यात्रा हामी सबैको चाहना, सबैले गरौँ ट्राफिक नियमको पालना’ भन्ने मूल नारासहित कोशी प्रदेशमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त आयोजनामा सुरु भएको यो सप्ताह सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणमा केन्द्रित रहेको जनाइएको छ।
विराटनगरको महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी रयाली सिटी हल पुगेर सम्पन्न भएको कार्यक्रमको उद्घाटन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दीप प्रज्वलन गरी गरे।
उनले ‘सुरक्षित यात्रा’ शीर्षकको श्रव्यदृश्य सामाग्री सार्वजनिक गर्नुका साथै सार्वजनिक बसमा क्यूआर कोड स्टिकर टाँसी यात्रुहरूको गुनासो सङ्कलनको व्यवस्था सुरु गरेका छन्।
मुख्यमन्त्री कार्कीले सडक दुर्घटनाको मुख्य कारक मानवीय लापरबाही भएकाले सबै क्षेत्रको सहभागिता आवश्यक भएको उल्लेख गर्दै विद्यालय तहबाटै ट्राफिक सचेतना अभियान थाल्नुपर्ने धारणा राखे। उनले ट्राफिक व्यवस्थापनमा योगदान दिने व्यक्तिहरूलाई प्रशंसा पत्रद्वारा सम्मान समेत गरेका छन्।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले ट्राफिक प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै प्रदेश सरकार सधैँ ट्राफिक सुरक्षामा तत्पर रहेको बताएका छन्।
ट्राफिक सप्ताहको अवसरमा कोशी प्रदेशका १४ वटै जिल्लामा एक सातासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएका छन्। सडक अनुशासन र सवारी सुरक्षामा जनसहभागिता बढाउन ट्राफिक सप्ताहले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।