राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ भिजिट भिसाको नाममा हुने मानव तस्करीका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानबिन समिति गठन गरी प्रभावकारी अनुसन्धान र कारबाहीको माग राख्दै रास्वपा जुम्लाले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको छ। 
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद विनीता कठायत र जुम्ला जिल्ला संयोजक मक्कर बहादुर भण्डारी नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय जुम्लामा बुझाएको ज्ञापन पत्रमा हजारौँ नेपाली युवाहरू ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, केही कूटनीतिक नियोग र सङ्गठित आपराधिक समूहहरूको संलग्नतामा दुबई लगायतका मुलुक हुँदै गैरकानुनी रूपमा तेस्रो देशमा पुयाइरहेका छन्। यस प्रकारको मानव तस्करीले नेपाली राज्यव्यवस्था, कानुनी शासन र मानवअधिकारमा गम्भीर प्रहार गरेको उल्लेख छ।
ज्ञापन पत्रमा भनिएको छ,‘सरकार र सम्बन्धित निकायहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएर छानबिन समिति गठन गरी अनुसन्धान गर्नुपर्छ। छानबिन पारदर्शी, तथ्यमा आधारित र समय सीमाभित्र सम्पन्न हुनुपर्छ। दोषीहरूलाई कानुन बमोजिम कडा कारबाही गरिनुपर्छ भने पीडितहरूको संरक्षण, राहत र पुनः स्थापनाको व्यवस्था गर्नुपर्छ।’
ज्ञापन पत्रमार्फत भिजिट भिसाको दुरुपयोग र मानव तस्करीमा संलग्न सरकारी कर्मचारी, ट्राभल एजेन्सी, म्यानपावर कम्पनीलगायतका निकायहरूको भूमिकाको निष्पक्ष छानबिन, नीतिगत कमजोरीहरूको पहिचान, अन्तर–निकाय समन्वय सुधार र छानबिन प्रक्रियामा उच्च पारदर्शिता कायम राख्नुपर्ने माग गरिएको सांसद विनीता कठायतले बताइन्। 
मानव तस्करी जस्तो गम्भीर विषयमा राजनीतिक र प्रशासनिक जबाफदेहिता सुनिश्चित गर्न गृहमन्त्रीको राजीनामा समेत माग गरिएको हो,’उनले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयलाई संसद्मा समेत बारम्बार उठाउँदै आएको छ।’
रास्वपा जिल्ला संयोजक भण्डारीले भने, ‘हामी नेपाली युवाहरूको सुरक्षाका लागि यो विषयमा कुनै सम्झौता गर्न सक्दैनौँ । सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्छ र दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ।’