अमेरिकाले इरानका तीन आणविक केन्द्रहरूलाई निशाना बनाएर गरेको आक्रमणको अमेरिका भित्रै विरोध भइरहेको छ।
इजरायल–इरान बिच भइरहेको युद्धमा अमेरिका प्रवेश गरेको छ। आइतबार अमेरिकाले इरानका तीन आणविक केन्द्रहरूमा आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले आज सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
‘हामीले इरानका तीन आणविक स्थलहरूमा धेरै सफल आक्रमण पूरा गरेका छौँ, जसमा फोर्डो, नातान्ज र एस्फहान समावेश छन्। हाम्रा सबै विमानहरू अब इरानको हवाई क्षेत्र बाहिर छन्। बमको फोर्डोमा खसालिएको थियो। सबै विमानहरू सुरक्षित रूपमा घर फर्किरहेका छन्। हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई छ। संसारमा यस्तो गर्न सक्ने अर्को कुनै सेना छैन। अब शान्तिको समय हो।’
तर ट्रम्पको यस्तो कदमको अमेरिका भित्रै र विश्वका अन्य मुलुकका नेताहरूले समेत विरोध गरिरहेका छन्। अमेरिकी सांसदहरूले कंग्रेसको स्वीकृति नलिएकोमा ट्रम्प प्रशासनको आलोचना गरेका छन्।
बिबिसी न्युजले उल्लेख गरे अनुसार इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले अमेरिकी हमलालाई ‘अपमानजनक’ भन्दै निन्दा गरेका छन्। उनले इरानले ‘आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न सबै विकल्पहरू सुरक्षित राखेको’ बताएका छन्।
हमला लगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले इरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको बताउँदै इरानले अब शान्ति कायम गर्नुपर्ने बताएका छन्।