भारतको उत्तराखण्डस्थित काशीपुरलगायत विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका नेपालीहरूले आफूहरूलाई कुटपिट गरिएको, काँचो भात साथै नुन–पानी र बेसार हालेर दिने गरेको बताएका छन्।
बुधवार अपराह्न पश्चिमी नाका गड्डाचौकीबाट स्वदेश फर्किएका उनीहरूले दलालहरूले चरम यातना समेत दिएको बताए। भनेको नमाने कुटपिट समेत गर्ने गरेको पनि उनीहरूले बताए।
नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रूपमा बन्धक बनाइएका उनीहरूको उद्धार गरि नेपाल ल्याइएको हो।
उद्धार गरिएको मनोज कटुवाल भन्छन्,‘राम्रो जागिर दिन्छु भनेर झुटो आशा देखाएर बोलाइयो। अन्त्यमा आफू त फसियो नै आफन्तहरूलाई नै फसाउन बाध्य पारियो।’
यस्तै, उनले सुत्नको लागि पातलो ढसना, खानाको लागि आधा मात्र पाकेको चामल अनि पानीमा नुन र बेसार हालेर दिने गरेको सुनाए।
उनले भने, ‘पढेलेखेकालाई त्यही अनुसार नपढेकालाई त्यही अनुसार जागिर दिन्छु भनियो। धेरै साथीहरूलाई यस्तै झुटो आशा देखाएर बोलाएको रहेछ। हामीलाई त्यहाँ काम त दिइएन तर अन्य नेपालीहरूलाई पनि फसाउन धमाधम बोलाउने र फसाउने काम भयो। उनीहरूले भनेको मानेन भने कुटपिट गर्ने, मार्ने धम्की दिइयो। कुटपिटमा म लगायत मेरा धेरै साथीहरू परेका थिए। अरू धेरै नेपाली युवाहरू भारतमा गएर फसिरहेका छन्। उनीहरूलाई पनि छिटोभन्दा छिटो निकाल्नु पर्छ।’
सुरुमा नेपाली ४० हजार रुपैयाँ तिरेर काम गर्न भनेर गएकाहरूलाई एउटा कोठा भित्रै थुनेर खाना पनि राम्रो नदिएको अर्का पीडित राजेश राईले बताए। ‘मलाई नराम्ररी फसाइयो, नेपाल फर्किन खोज्दा मार्ने धम्की दिइयो। आमाको निधन हुँदा पनि नेपाल आउन दिइएन। चरम अमानवीय व्यवहार गरियो,’ राईले भने।
मलाई सुरुमा उनीहरू (दलाल) सँगै रहेका साथीले काम गर्न आऊ भनेर बोलाए। पढेलेखेको छैन भनेपछि प्याकिङ्को काम मिल्छ भनियो। तर पाँच महिना भइसक्दा पनि काममा लगाइएन। एक महिनापछि मात्र काम के हो भनेर थाहा भयो, नेपालका मान्छे तान्ने काम मात्र रहेछ। आफ्नै मान्छेलाई फसाउने रहेछ। त्यो कुरा थाहा पाएपछि घर जान्छु भन्दा कुटपिट भयो। आमाको अन्तिम सार फेरेको हेर्ने इच्छा थियो तर नेपाल आउनै दिइएन,’ उनले भने।
बिरामी हुँदा बेसार–पानी खाए जस्तो खाना खाएर १६ महिना काम गरे पनि एक रुपैयाँ नदिएको सौगात काफ्ले नाम गरेका अर्का पीडितले बताए।
‘कम्प्युटरमा डाटा इन्ट्रि र प्याकेजिङको लागि भनेर बोलाइएको हो। मलाई मेरो काकाको फोनबाट बोलाएको थियो। त्यहाँ गएर हेर्दा काकासँग फोन नै छैन रहेछ। त्यहाँ जाने बेला मसँग नेपाली ५० हजार असुलियो। त्यसपछि १०–१२ दिन एउटै कोठामा राखियो। मलाई मेरै आइडी प्रयोग गराएर आफन्तहरूलाई बोलाउन मात्र लगाइयो। मेरो आइडी प्रयोग गरेर अरू छसात जनालाई बोलाइएको रहेछ। त्यसपछि उनीहरूलाई कुटपिट गरेर पठाउने गरेको रहेछ। यसै क्रममा करिब पाँच लाख मेरो ऋण भयो,’ उनले भने।
‘बाउन्सरहरु प्रयोग गरेर नेपालीहरूलाई यातना दिइयो’
नेपालीहरूको उद्धारमा अगुवाइ गरेका ‘किन इन्डिया’का निर्देशक यस्तो घट्नाका बारेमा एक महिनाअघि नै पत्ता लगाएर उद्धारको प्रक्रिया सुरु गरिएको बताए। एक जना ताप्लेजुङका युवा मृत भेटिएपछि घट्नाका बारेमा अध्ययन सुरु गरेको जानकारी दिए।
‘उत्तर खण्डको प्रहरीको सहयोगमा हामी घटनास्थलमा पुग्दा लाइन लगाएर मान्छेहरूलाई बोलाउन लगाइएको थियो। बाउन्सरहरु प्रयोग गरेर बोल्न वा बोलाउन बाध्य पारिएको रहेछ। वीरेन्द्र शाहीको अगुवाइमा त्यहाँ नेपालीहरूलाई चरम यातना दिइएको रहेछ। पीडितहरूले निज शाही र मनिष तिवारी नाम गरेका दलालहरूको विरुद्धमा उत्रिएका हुन्। युवाहरू सुरुमा डराइरहेका थिए। तर शाहीलाई पक्राउ परेपछि मनोबल बढेको हो,’ जोशीले भने,‘यो घटनाका विरुद्ध मुद्दा अघि बढाइएको छ।’
उद्धार गरिएका व्यक्तिहरू चितवनका १० जना, कैलालीका ९ जना, सुनसरीका ५ जना, पाँचथर, तेह्रथुम, उदयपुरका ४/४ जना, दाङ, स्याङ्जा, बाँकेका ३/३ जना, डोटी, ताप्लेजुङ, धादिङका २/२ जना, सर्लाही, कास्की, रुकुम, बागलुङ, इलाम, रुपन्देहीका १/१ जना छन्।
उद्धार गरी नेपाल ल्याइएका युवाहरूको स्वागतमा नाकामा पुगेका सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआइजी डम्बरबहादुर विकले उद्धार गरिएका युवाहरूलाई सुरक्षित आफ्नो घरसम्म पुर्याइने बताए। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्धार गरिएका युवाहरूलाई गन्तव्यसम्म पुर्याउने काम भइरहेको जानकारी दिए।
गत बिहीबार र आइतबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नवीन जोशीको अगुवाइमा ती नेपालीहरूको उद्धार गरिएको थियो।
आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई भारत बोलाएर बन्दी बनाउने गरिएको छ। उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुली गर्ने गरिन्छ। भारतका विभिन्न सहरमा अझै सयौँ युवा फसिरहेको आशङ्का गरिएको छ।