पर्सा प्रहरीले लागूऔषध ३ सय १९ केजी चरेस सहित एक जनालाई पक्राउ गरेको छ। बाराको परवानीपुरबाट वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई परवानीपुर चोकमा रोकेर चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध चरेस बरामद भएको प्रहरीले जानकारी दिएको छ। 
जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतम मिश्रले ट्रकबाट  बरामद गरिएको चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको अनुमान गरिएको बताए। 
उनका अनुसार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ घर भएका ३६ वर्षीयबुद्धिबहादुर स्याङ्तानलाई चरेससहित पक्राउ गरिएको हो।
प्रहरीले खानतलासीका क्रममा चालक स्याङ्तानले लगाएको पाइन्टको खल्तीबाट नगद १ लाख ९२ हजार रुपैयाँ रकम पनि बरामद गरेको प्रहरी उपरीक्षक मिश्रले बताए। पक्राउ परेका स्याङ्तानले  धादिङबाट ट्रकमा लोड गरेर ल्याएको र वीरगन्जको ड्राइपोर्ट नाका हुदैं भारतमा पुर्‍याउने योजनामा रहेको प्रहरी समक्ष बताएको पर्सा प्रहरी प्रमुख मिश्रले बताए।
उनका अनुसार चरेससहित पक्राउ परेका स्याङे्तानलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
चरेसको तस्करीमा संलग्न अन्य व्याक्तिहरुको बारेमा पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।