बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन्। 
भारतको सितामढी निवासी ३५ वर्षीय क्रेन चालक अशोक बैठा विस्फोटमा परी घाइते भएका हुन्। 
उनको हातमा सामान्य चोटपटक लागेको छ र परवानीपुरमा रहेको एलएस न्युरो एन्ड जनरल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेदप्रकाश जोशीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको सो उद्योगको भट्टीमा बुधवार राति शक्तिशाली विस्फोट भएको हो। भट्टीमा अत्यधिक तापक्रम वृद्धि भएको वा कुनै प्रकारको रासायनिक रिसाव (लिकेज) का कारण विस्फोट भएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए।
यद्यपि, विस्फोटको ठोस कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको उनले बताए। उद्योगमा भएको भौतिक क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।