मोरङको कटहरीमा ट्याक्टर चालकको लाट्ठी प्रहारबाट ट्रक चालक गम्भीर घाइते भएका छन्।
कटहरी गाउँपालिका–३ स्थित इको पावर सोलुशन प्रा.लि नामक उद्योगमा ना ५ ख ५६१६ नम्बरको ट्रकले टायर झार्ने क्रममा को १ त ५९३३ नम्बरको ट्याक्टरको बाटो रोकेको भन्दै ट्याक्टर चालक कटहरी–३ का अन्दाजी ३० वर्षीय दिपेश कामतले आक्रमण गरेका हुन्।
कामतको आक्रमणबाट ट्रक चालक सर्लाहीको धुर्कौली घर भएका ५६ वर्षीय गार्खबहादुर दोङ गम्भीर घाइते भएका छन्। टाउकोमा चोट लागेका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
‘ट्रकले बाटो ‘ब्लक’ गरेको विषयमा २ जना चालकबीच विवाद भएछ। त्यसपछि ट्याक्टर चालकले लाट्ठीले ट्रक चालकको टाउकोमा प्रहार गरेको पाइयो,’ प्रहरी स्रोतले भन्यो।
ट्रक चालकको टाउकोको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
ट्रक चालक दोङमाथि आक्रमण गर्ने ट्याक्टर चालक कामतलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।
