अमेरिकी तल्लो सदन काँग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर र खर्च गर्ने विधेयक पारित गरेको छ। अमेरिकाको क्यापिटल हिलमा लामो र कठिन संसद् सत्रपछि तल्लो सदनले बिहीबार २१८–२१४ को मतले विधेयक पारित गरेको हो।
यसअघि माथिल्लो सदन सिनेटले मङ्गलवार एक मतको अन्तरले यो विधेयक अनुमोदन गरेको थियो।
ट्रम्पले रिपब्लिकन नियन्त्रित कंग्रेसलाई ४ जुलाईसम्म अन्तिम संशोधित विधेयकमा हस्ताक्षरका लागि पठाउन समय सीमा दिएका थिए।
यो विधेयकले आगामी १० वर्षमा सङ्घीय घाटामा ३।३ ट्रिलियन डलर थप्न सक्ने र लाखौँ मानिसहरूलाई स्वास्थ्य बिमाबाट वञ्चित गर्ने संसदीय बजेट कार्यालयले प्रक्षेपण गरेको छ। तर, यसलाई ह्वाइट हाउसले अस्वीकार गरेको छ।
बिहीबार साँझ पत्रकारहरूसँग ट्रम्पले यो विधेयकले देशलाई ‘रकेट जहाज’मा परिणत गर्ने बताएका छन्।