मधेस प्रदेश सरकारले प्रदेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको छ।
बिहीबार साँझ बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको हो। वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाईमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टिगत गर्दै सुख्खा ग्रस्त क्षेत्र घोषणा गरिएको जनाइएको छ।
बैठकले सुख्खा ग्रस्त मधेस प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ।
यस्तै, कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ।
बैठकले पर्साको वीरगन्ज सहित मधेस प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी सङ्कट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ।
खानेपानी सङ्कट समाधानमा आवश्यक सहयोग गर्न सङ्घीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्कर सहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।