नेपाल विद्यार्थी सङ्घ, काठमाडौँ कार्यसमितिले आज (शुक्रवार) राजधानीको बालुवाटारमा गरेको प्रदर्शनमा विद्यार्थी नेताहरू पक्राउ परेका छन्। 
पक्राउ पर्नेमा नेपाल विद्यार्थी सङ्घ, काठमाडौँका अध्यक्ष अंशुल केसी, सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, चन्द्रागिरी उपाध्यक्ष रोहन देशार, त्रिचन्द्र क्याम्पसका सतिश यादव र काठमाडौँ सहसचिव प्रस्ताव केसी रहेका छन्।
नेविसंघले विद्यालय भर्नामा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्तिको पारदर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति हुनुपर्ने समेतका माग राखेर प्रदर्शन गरेको नेविसंघका केन्द्रीय सदस्य भूपेन्द्र सिं थेबेले बताए।
नेविसंघले पक्राउ परेका नेविसंघका नेता तथा कार्यकर्ताको तत्काल रिहाइको माग गरेको छ।