सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु रहेको बताएका छन्।
शनिवार काठमाडौँमा आयोजित एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा भएको अवसरलाई सदुपयोग नगरेर केही भएको छैन भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरु रहेको बताए।
उनले भने, ‘नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने अवसर छ। यसको सदुपयोग गर्नुपर्छ। हामीसँग भएको अवसरलाई सदुपयोग गर्न जान्नु पर्छ। भएको कुरा केही होइन र हुँदै नभएको कुराको पछि पछि दौडिएर हामीले के पाउने। नेपालमा प्रशस्त सम्भावनाहरु छन्।’
यस्तै, उनले नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने काम सबैको भएको भन्दै केही हुँदैन भन्ने गलत भाष्यलाई सबैले गलत साबित गर्नुपर्ने बताए। 
उनले भने, ‘अहिले नेपालमा केही हुदैँन, भन्ने भ्रम फैलाउने दुष्प्रयास भइरहेको छ। तर तपाई हामीले हो नेपाल बनाउने, नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने, सुरुमै निराश भएर केही हुदैँन भन्ने गलत भाष्य निर्माण भइरहेको छ। यसलाई पनि सबैले गलत साबित गर्नुपर्छ।’ उनले सबै विद्यार्थीहरूलाई मेहेनतका साथ अगाडि बढ्न पनि आग्रह गरेका छन्।