नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभावित बन्न पुगेको छ।
यस सडक खण्डमा आवतजावत गर्ने करिब १५ हजारभन्दा बढी सवारी साधनहरूलाई व्यवस्थापन गरेर निर्माण गर्न समस्या भइरहेको नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशव प्रसाद ओझाले जानकारी दिएका छन्। यो सडक खण्डमा डाइभर्सन पनि नभएको र काठमाडौँ जोड्ने सडक बिपी र कान्ति राजमार्गहरूले पनि सोचेको जस्तो सहयोग नगरेको हुँदा सवारी चापका कारण सडक निर्माणको कामले तीव्रता लिन नसकेको उनको भनाई छ।
‘हालको अवस्थामा निर्माण सामग्रीको समस्या प्रमुख छ भने दोस्रोमा करिब १५ हजारभन्दा बढी सवारी साधनहरूलाई व्यवस्थापन गरेर निर्माण गर्न पनि समस्या भइरहेको छ। यसको डाइभर्सन पनि नरहेको र काठमाडौँ जोड्ने सडक बिपी राजमार्ग, कान्ति राजमार्गहरूले पनि हामीले सोचेको जस्तो सहयोग नगरेको हुँदा सबै सवारी चाप यही सडकमा परेको छ,’ उनले भने।
यस्तै, उनले दिनमा ८ घण्टा काम गर्ने समय पनि नपाएको भन्दै यसलाई समाधान गर्ने हो भने काम तीव्र रूपमा अगाडि बढ्ने बताए। उनले भने, ‘यसले गर्दा हामीले दैनिक ८ घण्टा काम गर्ने समय पनि पाइरहेका छैनौ। यसले गर्दा पनि सोचे अनुसार प्रगति गर्न सकेका छैनौ। काम गर्न पनि चुनौती भएको छ। यसको लागि हामीले सवारी धनी, जिल्ला प्रशासन र ट्राफिकहरूसँग समन्वय गरेर गाडीको चाप कम हुने समयमा निर्माण कार्यलाई तीव्रता दिने काममा लागेका छौ।’
उनले अबको एक वर्षभित्र बाँकी २७ किलोमिटर पहिलो तहको कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेका पनि जानकारी दिएका छन्।