नुवाकोट जिल्लाको ताँदी खोलामा निर्माणाधीन मध्यताँदी खोला जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ।
दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रा.लि. ले निर्माण गरिरहेको ५.५ मेगावाटको आयोजनाका लागि कुल लागत १ अर्ब १० करोड रुपैयाँमध्ये ७१ करोड ४४ लाख रुपैयाँ प्रभु बैंकले लगानी गर्ने भएको छ।
शुक्रवार काठमाडौँमा जलविद्युत आयोजनाको लगानीका लागि भएको लगानी सम्झौता पत्रमा आयोजनाका तर्फबाट अध्यक्ष अनिल जोशी र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा प्रोजेक्ट हेड दीपेश पोखरेलले हस्ताक्षर गरेका छन्।
यो आयोजनाका लागि प्रभु बैंकको तर्फबाट एकल लगानी रहनेछ भने बाँकी लगानी निर्माण कम्पनी दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रा. ली. ले गर्नेछ। आयोजनामा बैंकले ६५ र निर्माण कम्पनीले ३५ प्रतिशत लगानी गर्ने सम्झौता भएको छ।
नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको वार्ड नं ६ मा आयोजना निर्माण सुरु भइसकेको छ। अहिले सडक, आवास गृह लगायतको निर्माण भइरहेको आयोजनाका प्राविधिक सल्लाहकार इन्जिनियर सरोज खनालले जानकारी दिए। १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट उत्पादित विद्युत् ६ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटस्थित समुद्रटार सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।