झापाको दमकमा स्कुटरको ठक्करबाट घाइते भएका एक वृद्धको मृत्यु भएको छ। दमक नगरपालिका–१० का ७७ वर्षीय देवबहादुर श्रेष्ठको मङ्गलवार राति उपचारका क्रममा निधन भएको हो।
श्रेष्ठलाई असार २९ गते साँझ दमक–१० को जहदा टोलमा पैदल हिँडिरहेको बेला मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो।
घाइते श्रेष्ठ बोल्न नसक्ने अवस्थामा रहेकाले तत्काल दमकस्थित निम्स अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित बिराट टिचिङ अस्पताल रेफर गरिएको थियो। विराटनगरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेका श्रेष्ठलाई परिवारजनले घर लैजाने क्रममा स्वास्थ्य अवस्था झनै गम्भीर भएपछि पुनः दमक अस्पताल ल्याइएको थियो। उपचारका क्रममा मङ्गलवार राति उनको मृत्यु भएको झापा प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न स्कुटर चालक १६ वर्षीय किशोर हुन्, जो तेह्रथुम म्याङलुङ घर भई हाल दमक–१० मा बस्दै आएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।