सर्लाही नवलपुरमा ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ। 
लालबन्दी नगरपालिका–१, नवलपुरमा ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट प्रवाह भएर रौतहटको वृन्दावन नगरपालिका–७, बस्ने ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए।
उनका अनुसार करेन्ट लागेर दुई जना अचेत भएका छन्। ट्रकमै करेन्ट प्रवाह भएर ट्रकमा कार्यरत मजदुर वृन्दावन नगरपालिका–७, रौतहटकै २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान उनले जानकारी दिए।
रौतहटबाट न्यू माँ राजदेवी खाद्य उद्योग नवलपुरमा धानको भुस लिन आएको ना. ६ ख ७५५० नम्बरको ट्रकलाई उद्योगभित्र लैजाने बेला ११ हजार भोल्टको तार पन्छाउने क्रममा ट्रकमा सवार मजदुरलाई करेन्ट लागेको हो।
ट्रकका सहचालक रहेका पासवानलाई उपचारका लागि तत्कालै नमूना अस्पताल हरिवन लैजाँदा चिकित्सकले मृत घोषणा गरेका इन्स्पेक्टर जोहारीले बताएका छन्।
घाइते पासवान द्वयको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको लालबन्दी प्रहरीले जनाएको छ। ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।