नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन्। बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणलगायतका विषयमा छलफल भएको हो। 
भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ। सिमापुल भएको स्थान जतिसक्दो छिटो अस्थाई पुल बनाउन चिनिया पक्षबाट प्रतिबद्धता आएको छ। 
यसैगरि चिनिया सहयोगमा सञ्चालित अन्य आयोजनाहरू टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडक लगायतका विषयमा पनि छलफल भएको थियो। छलफलमा राजदूत चेनले काठमाडौँ–चक्रपथ दोस्रो खण्ड विस्तारको काम छिटै सुरु हुने बताए। 
भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। आगामी दिनमा नेपाल र चीनबीच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे। 
छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढी क्षतिग्रस्त बनाएको सिमापुल रहेको स्थानमा दसैँ अघि नै पुल निर्माण हुने अपेक्षा राखिएको छ। मन्त्री दाहाल, मन्त्रालय एवम् सडक विभागका अधिकारीहरूको बिच फलदायी छलफल भएको सचिव शर्माले जानकारी दिए। 
बाढीले नेपाल–चीनको मुख्य नाका रसुवागढीबाट आवात जावतमा कठिनाइ भए पछि मन्त्री दाहालले त्यस खण्डलाई सुचारु गर्ने विषयमा चासो लिँदै आउनु भएको छ। छलफलमा सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसीलगायत मन्त्रालय तथा सडक विभागका अधिकारीहरू सहभागी थिए।