हेटौडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा भेट गरी उद्योगका समस्या र माग समेटिएको ध्यानाकर्षण पत्र बुझाएका छन्।
अध्यक्ष प्रचण्डसँगको भेटमा ट्रेड युनियनका प्रतिनिधिहरूले उद्योग सञ्चालनमा चरम लापरबाही भएको, कर्मचारीका मागहरू बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलापहरू भइरहेको उल्लेख गर्दै यस्ता गतिविधि रोक्न तथा उद्योग घाटा रहित रूपमा सञ्चालन गर्न पहल गरिदिन आग्रह गरेका हुन्।
सो अवसरमा अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्री कालमा घाटामा गएका र रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउन सिंहदरबारमा सरोकारवालाहरूको पटक पटक बैठकहरू बसालेको स्मरण गर्दै हेटौडा सिमेन्ट उद्योगमा देखिएका समस्याहरू समाधान गर्न र ट्रेड युनियनका मागहरू सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
सरकारी उद्योग कलकारखानाहरूको पुर्नसंरचना र सुधारका निम्ति माओवादी केन्दले चासो र पहल लिँदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले श्रमिक वर्ग र देशको हितमा सकारात्मक पहल लिने विश्वास दिलाए।
छलफलमा हेटौँडा सिमेन्टको समाचारमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज विजय गौतम समेत सहभागी थिए।