बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग खेल्दै छ।

डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो। खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ।

नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो।

त्यस्तै श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७-० गोलअन्तरको जित निकालेको थियो। भुटानले भने हालसम्म नेपालसँग १ खेलमा तथा बंगलादेशसँग २ खेलमा हार बेहोर्दा श्रीलंकालाई हराएको छ।

प्रतियोगितामा बंगलादेश ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ भने ४ खेलमा ९ अंक भएको नेपाल दोस्रो र ३ अंक मात्र भएको भुटान तेस्रो स्थानमा छ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ। अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ।