महिला कबड्डी विश्वकप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला कबड्डी टोली थप प्रशिक्षण र अभ्यास खेलका लागि शनिबार भारतको हरियाणा प्रस्थान गरेको छ।
पछिल्लो समय नेपाली महिला कबड्डीले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सफलताहरू हात पारिरहेको छ। यस पटक विश्वकपमा पनि पदक जित्ने लक्ष्य लिएर नेपाली महिला कबड्डी टोलीले भारतको यात्रा तय गरेको छ।
१४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार भारतको हरियाणा प्रस्थान गरेको छ। नेपाली टोलीको कप्तानमा मानमति विष्ट छन् भने जयन्ती बडु उपकप्तान छन्।
महिला कबड्डी विश्वकपको दोस्रो संस्करण अगष्ट ३ देखि १० सम्म हैदरवादमा आयोजना हुँदैछ। सुरुमा जुनमा बिहारमा हुने तयारी थियो तर अब हैदरवादको गोचिबोली इन्डोर स्टेडियममा अगष्ट ३ देखि १० सम्म आयोजना हुनेछ।
विश्वकप खेल्नुअघि नेपाली महिला कबड्डी टोलीले हरियाडास्थित मोरमाजरामा १२ दिनको तयारी गर्नेछ। त्यहाँ रहँदा नेपालले बन्द प्रशिक्षणमा तयारी गर्नुका साथै ५ अभ्यास खेल पनि खेल्ने तालिका छ।
कप्तान मानमती विष्टले लामो समयदेखि टिमले प्रशिक्षण गरिरहेको र हरियाणामा हुने तयारीले अझ सहयोग पुग्ने बताएकी छन्। ‘हरियाणाको गुरुकुलमा तयारी गरेको हो पहिला पनि। अहिले पनि त्यहाँ गएर प्रशिक्षण गर्दा र म्याच एक्सपोजरले विश्वकपमा धेरै सहयोग गर्छ र राम्रो हुन्छ’ विष्टले भनिन्, ‘त्यहाँ हामीले ५ अभ्यास म्याच पनि खेल्छौं। त्यसले गर्दा खेलको अनुभव पनि राम्रो हुन्छ।’

महिला कबड्डी विश्वकपमा १४ टोलीको सहभागिता हुनेछ। आयोजक भारतसहित अर्जेन्टिना, बंगलादेश, चाइनिज ताइपेई, जर्मनी, नेदरल्याण्ड्स, इरान, जापान, केन्या, नेपाल, पोल्याण्ड, थाइल्याण्ड, युगान्डा, जान्जिबारले विश्वकप खेल्नेछन्।
महिला कबड्डीमा पहिलो विश्वकप भएको १३ वर्षपछि दोस्रो संस्करण हुन लागेको हो। सन् २०१२ मा पहिलो संस्करण भारतकै पटनामा भएको थियो।
पहिलो संस्करण भारतले जितेको थियो भने इरान, जापान, थाइल्याण्ड दोस्रो देखि चौथोसम्म भएको थियो।