नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक/निजी साझेदारी (पीपीपी) मोडलमा ४ वटा ठुला विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ।
प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि आइतबार सूचना जारी गर्दै निजी फर्म तथा कम्पनीहरूसँग आशयपत्र (इओआई) मागेको छ। प्राधिकरणले ११८ किलोमिटरको तिङ्ला–दूधकोशी–ढल्केबर ४०० केभी, ९४ किलोमिटरको अरुण हब (शीतलपाटी)–इनरुवा ४०० केभी, ८० किलोमिटरको न्यू खिम्ती–ढल्केबर ४०० केभी र ३० किलोमिटरको लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माण गर्न आशयपत्र आह्वान गरेको हो।
आशयपत्र पेश गर्ने फर्म तथा कम्पनीको आयोजना सञ्चालन गर्न आवश्यक वार्षिक आम्दानी (एनुअल रिक्वायर्ड रेभिन्यु–एआरआर) का आधारमा प्राधिकरणले प्रतिस्पर्धाबाट फर्म/कम्पनी छनोट गने बताएको छ।
आशयपत्र पेश गर्ने फर्म/कम्पनीले बोलपत्रमार्फत बोलकबोल गरेको राजस्वको आम्दानी रकम र अन्य प्राविधिक क्षमताका आधारमा प्रतिस्पर्धामार्फत निर्माणकर्ता फर्म/कम्पनी छनोट हुनेछ भने छानिने फर्म/कम्पनीले प्रसारण लाइनको निर्माण–स्वामित्व ग्रहण–सञ्चालन र हस्तान्तरण बुट मोडलमा विकास गर्नुपर्नेछ।
प्राधिकरणले तिङ्ला–दूधकोशी–ढल्केबर लाइनको लागत करिब १४ करोड २० लाख अमेरिकी डलर (करिब रु १९ अर्ब ६१ करोड ५८ लाख), अरुण हब (शीतलपाटी)–इनरुवा तथा न्यू खिम्ती ढल्केबरको ८ करोड लाख अमेरिकी डलर (करिब रु ११ अर्ब ५ करोड) र लप्सीफेदी–३ पिप्लेको १ करोड ८० लाख अमेरिकी डलर (रु १ अर्ब ४८ करोड रुपैयाँ) लागत अनुमान गरेको छ।