जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

धनुषाको बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिका– ४, कटैयाचौरीस्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या आरोपमा उनकै आमाको प्रेमीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका छन्।

बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा हत्या आरोपमा पक्राउ परेका क्षीरेश्वरनाथ नगरपालिका ९, ईच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साहलाई सार्वजनिक गरिएको हो।

साहलाई बुधबार राति करिब साढे १० बजेको समयमा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर– ९ बाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए। साह यसअघि आफ्नो श्रीमतीको हत्या गरेको घटनामा पाँच वर्ष सजाय काटेर २०७७ मा रिहा भएका थिए।

साहले सोमबार राति साढे ११ बजेको समयमा खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको छ भने उनको आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका १, ढल्केवर बस्ने होविन्द्र यादवको १४ वर्षीया छोरी राशा यादव घाइते भएका थिए। 

आशाको धरानस्थित बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको तथा उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएका छन्।