राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठक बहिष्कारलाई निरन्तरता दिएको छ।
गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको राप्रपा ररास्वपा दुबैले मंगलबार पनि बैठक बहिष्कार गरेको छ।
सभामुख देवराज घिमिरेले बैठकको सुरुवात मै बोल्न अनुमति दिएका सांसद विराजभक्त श्रेष्ठले आन्दोलन जारी रहेको बताए।
‘जबसम्म यो विषय न्यायोचित सम्बोधन हुँदैन, चित्त बुझ्दो र ठोस कारबाही अगाडि बढ्दैन तबसम्म हामी यो मुद्दा निरन्तर उठाइरहने नै छौँ,’ उनले भने, ‘हामी आन्दोलनबाट पछि हट्ने छैनौँ। र हाम्रो आन्दोलन जारी छ।’
त्यस्तै, सभामुख देवराज घिमिरेले राप्रपाका सांसद दीपकबहादुर सिंहलाई बोल्ने अनुमति दिएका थिए। उनले भिजिट भिसा प्रकरणमा पार्टीले राख्दै आएको माग पूरा नभएकाले बैठक बहिष्कार गर्ने बताए।
‘हामी सदन बहिष्कार गर्छौं। सदन बहिष्कार गर्दाखेरि हामीले पाउने भत्ता पनि बहिष्कार गरिराखेका छौँ,’ उनले भने। मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि बैठक बहिष्कार गरेको छ।
