प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच भेटवार्ता भएको छ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभबीच दुईपक्षीय भेटवार्ता भएको हो।
भेटवार्तामा दुईदेशबीचको सम्बन्धका बारेमा कुराकानी भएको प्रधानमन्त्री ओलीले जानकारी दिए। उनले नेपाल र तुर्कमेनिस्तान भूपरिवेष्टित देश रहेकाले आगामी दिनमा दुई देशबीच सहकार्य गर्दै अघि बढ्न आफूले प्रतिबद्धता जनाएको जानकारी दिए।
प्रधानमन्त्री ओलीले नेपालको विकासको अवस्थाका बारेमा पनि तुर्कमेनिस्तानका राष्ट्रपतिलाई जानकारी गराएको उल्लेख गरे।
भेटवार्तामा तुर्कमेनिस्तानका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको प्रधानमन्त्री ओलीले जानकारी दिए। त्यसअघि बुधबार नै प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत दक्षिण दक्षिण सहकार्यसम्बन्धी सत्रमा सम्बोधन गरेका थिए।