नेपालमा हरित हाइड्रोजन उत्पादन गर्न दक्षिण कोरियाली कम्पनी जी–फिलोस कोअपरेटिभ लिमिटेड र लगानी बोर्ड नेपालबिच बिहीबार काठमाडौँमा एक समारोहका बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
नेपालमा ग्रिन हाइड्रोजन उत्पादन र फ्युल सेल प्लान्ट स्थापना गर्ने उद्देश्यले समझदारी भएको हो। प्रारम्भिक चरणमै कम्पनीले करिब ५० करोड अमेरिकी डलर अर्थात् सात अर्ब रुपैयाँभन्दा बढीको लगानी गर्ने प्रस्ताव गरेको छ। कम्पनीले नेपालमा पाइलट परियोजनाको रूपमा २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन सुरु गर्ने योजना बनाएको छ।
लगानी बोर्डका कार्यकारी अधिकृत ज्ञवालीले कार्यक्रममा बोल्दै यस प्रकारको परियोजनामा प्राज्ञिक क्षेत्रको समेत महत्त्वपूर्ण भूमिका रहने तथा यस्ता परियोजनाहरूले नेपाल जस्तो राष्ट्रमा पुँजी तथा प्रविधिको विनिमयमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्रस्तावक कम्पनीले निर्दिष्ट समयमै गुणस्तरीय प्रतिवेदन पेस गर्ने विश्वास राख्दै ज्ञवालीले अध्ययन पश्चात् यथाशक्य छिटो नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट स्थापना हुने प्रतिबद्धता व्यक्त गरे।
प्रस्तावक कम्पनी जी–फिलोस कम्पनी लिमिटेडले नेपालमा सार्वजनिक–निजी साझेदारी ढाँचामा ग्रिन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि मिति २०८२ वैशाख १५ मा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेस गरेकामा लगानी बोर्डको ६३औँ बोर्ड बैठकले उल्लिखित प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो।
गत वैशाख १५ गते कम्पनीले लगानी बोर्डमा पूर्व–सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनका आधारमा जेठ १३ गते बसेको लगानी बोर्डको ६३औँ बैठकले विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउने स्वीकृति दिइसकेको छ।
उक्त हस्ताक्षर कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क ताए योङले विशेष मन्तव्य राख्दै नेपालमा यस प्रकारका नवीकरणीय स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको औँल्याउँदै यस्ता परियोजनाहरूले नेपालले परिलक्षित गरेका दिगो विकास लक्ष्यहरूको प्राप्तिमा कोशेढुङ्गा साबित हुने तथा नेपाल र दक्षिण कोरिया बीचको द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।
हरित हाइड्रोजन र फ्युलकोष सम्बन्धीको परियोजना आफ्नो व्यक्तिगत रुचि र उत्साहको विषय भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सन् २०२० मा कोभिड महामारीको समयमा आफूले पनि व्यक्तिगत रूपमा नेपालमा हरित हाइड्रोजन तथा यसको उपयोग, जस्तै: मल, अमोनिया र हरित अमोनिया, विषयमा अनुसन्धान गरेको बताए । त्यसयता आफूले निरन्तर रूपमा नेपालमा हरित हाइड्रोजन उत्पादनका लागि अध्ययन गर्न लागिपरेको उनले दाबी गरे।
‘हरित हाइड्रोजन उत्पादनका लागि प्रमुख कच्चा पदार्थ विद्युत् हो। अन्य तत्त्वहरू—पानी र हावा—लगभग निःशुल्क भएपनि सफा स्रोत आवश्यक पर्छ। तर, वित्तीय वा व्यावसायिक मूल्यको हिसाबले विद्युत् नै मुख्य अवयव हो।
हरित हाइड्रोजन तथा फ्युलसेल प्लान्टको सम्भाव्यता विद्युतको मूल्य र उपलब्धतामा आधारित हुन्छ। नेपाल विद्युत् प्राधिकरणको दृष्टिकोणले हेर्दा, हरित हाइड्रोजन प्लान्ट एक भरपर्दो उपभोक्ता हो,’ उनले भने।
‘फ्युल सेलले ग्रिड स्थिरीकरण गर्ने भरपर्दो प्रणालीको रूपमा समेत काम गर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले हरित हाइड्रोजन र इन्धन कोष प्लान्टलाई उत्साहपूर्वक समर्थन गर्नु अझ सान्दर्भिक हुन्छ। मलाई आशा छ, हुने सम्भाव्यता अध्ययनले हामीलाई आशाको किरण देखाउनेछ, र नेपालकै सन्दर्भमा यो सम्भव छ भन्ने प्रमाणित गर्नेछ।’