बृहत नागरिक आन्दोलनले संङ्गीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने सबै भन्दा बलियो किल्ला २०७२ सालको संविधान भएकाले यसका जगमा जेनजी आन्दोलनको सफलताको बाटो पहिल्याउनु आवश्यक रहेको भन्दै अपिल गरेको छ।

बृहत् आन्दोलनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई पनि यदि संविधान भन्दा बाहिर भइरहेका क्रियाकलापमा सहकार्य गरिरहेको भए आफ्नो कित्ता स्पष्ट पार्न भनेका छन्।

‘जेनजीको आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि संगठित र लामो समयदेखि तयारी गरेअनुसार नागरिकप्रति उत्तरदायी सबै राज्यका संस्थाहरू र निजी क्षेत्रको भौतिक, आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य छ’ आन्दोलनद्वारा जारी विज्ञप्तिमा छ,’नेपाली सेनाको यो किसिमको भूमिका अति खेदपूर्ण छ र अविलम्ब सँच्च्याइनुपर्छ। यदि कामपा मेयर बालेनले पनि यिनै तत्वहरूसँग सहकार्य गरिरहेका हुन् वा सेनालाई नागरिकको टाउकोमा टेक्न प्रेरित गरिरहेका हुन् भने उनलाई पनि प्रतिक्रान्तिका नायक भनेर चिन्नेछौँ। उनले यो कुरा तुरुन्त मनन गरेर आफू उभिने कित्ता स्पष्ट पारुन्।’

राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता हो भएको आन्दोलनको ठहर छ। ‘अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतासाथ अघि बढ्नुको विकल्प छैन,’ आन्दोलनले भनेको छ,’यस संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पुरा गरोस्, तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस्, र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होऊन्।’