काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट यात्रीवाहक बस सञ्चालन हुन थालेका छन्।
यही भदौ २३ र २४ गते ‘जेनजी’को प्रदर्शनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन शुक्रबार (भदौ २७) देखि क्रमशः सञ्चालनमा आउन थालेका हुन्।
ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले शुक्रबार बिहान ७ देखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी दिए।
यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसअघि विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन दिएको थियो। हाल सवारीसाधन आफूखुसी बाहिरिएका हुन्।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आउँदो दिनमा संस्थागत रूपमा कसरी सवारीसाधन सञ्चालन गर्ने भन्नेबारे सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए।




















