राष्ट्रिय मानव अधिकार आयोगले जेन्जी पुस्ताको प्रदर्शनका क्रममा फरार भएका कैदीबन्दीलाई फिर्ता हुन र प्रदशर्नकारीले नियन्त्रणमा लिएका हतियार फिर्ता गर्न आग्रह गरेको छ।
राजधानीसहित देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरूका कारण समाजमा त्रास र असुरक्षाको अवस्था सिर्जना भएको भन्दै आयोगमा जानकारी आएको बताइएको छ।
बालसुधारगृहमा रहेका व्यक्तिहरू समेत सुधारगृहबाट भागेका भनी जानकारी आएको आयोगले जनाएको छ। यसबाट हुन सक्ने सुरक्षा जोखिमलाई आयोगले गम्भीररूपमा लिई अनुगमन गरिरहेको आयोगले बताएको छ।
“कारागारबाट भागेका कैदीबन्दीहरूका कारण विशेषगरी महिला, बालबालिका, निर्णयकर्ता एवं अपराध पीडित र तिनको परिवारमा मनोवैज्ञानिक असर परेको पाइएको छ,” आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “अधिकांश कैदीबन्दीहरु अझै कारागार प्रशासनको सम्पर्कमा नआएको पाइएको छ। सुरक्षा निकायले कैदीबन्दीहरुको खोजी कार्यलाई तीव्रता दिनुपर्ने देखिएको छ।”
कारागार फिर्ता भई कानुनी शासनको सम्मान गर्नु कैदीबन्दीहरूको पनि दायित्व भएको आयोगले बताएको छ।
प्रदर्शनको क्रममा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका हतियार र पोशाक प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएको भन्दै आयोगले उक्त हतियारहरू पूर्णरूपमा अझै पनि फिर्ता नभएको बताएको छ।

हतियारहरूको दुरुपयोग भई हिंसात्मक गतिविधि हुनसक्ने देखिएको भन्दै आयोगले भनेको छ, “सुरक्षा निकायको हतियार र पोशाक दुरुपयोग गर्नु गैरकानुनी कार्य मात्र नभई यस्तो गैरकानुनी कार्य रोक्न सहयोग गर्नु जिम्मेवार नागरिकको समेत कर्तव्य हो।”