सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्प नजिकैबाट सशस्त्र प्रहरीले पाँच हजार केजी लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालयबाट खटिएको टोलीले दुईवटा ट्रकमा लोड गरिएको गाँजा फेला पारेको हो। प्रहरी निरीक्षक अशोक न्यौपानेको नेतृत्वमा खटिएको २१ जनाको टोलीले उक्त गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) सुधिरजंग थापाले जानकारी दिए।
ना ४ ख २९०१ नम्बरको ट्रकबाट १२४ बोरा र बा ५ ख ११६९ नम्बरको ट्रकबाट ३४ बोरा गरी जम्मा १५८ बोरा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी देखेपछि संलग्न व्यक्ति फरार भएका र उनीहरूको खोजी कार्य भइरहेको प्रवक्ता थापाले बताए।
बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।