जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट भागेका एक विदेशी कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा दक्षिण अफ्रिकी नागरिक ६५ वर्षीय ज्याक्विस एन्टेन एंगल ब्रेफ छन्।

सुन्धारामा रहेको ओम सुविधा गेष्टहाउसको चौथो तलाबाट हामफाल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए।

२४ भदौको राति कारागारबाट भागेका उनलाई पक्राउ गर्न प्रहरी उक्त गेष्टहाउसमा पुगेको थियो। त्यसपछि उनले चौथो तलाबाटै हामफालेका थिए। उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। 

जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका थिए।