कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन्। अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले घटनाले प्रदेशमा ठुलो क्षति पुगेको बताएका छन्। कर्मचारीहरूलाई त्रासमुक्त भएर काममा फर्कन र दशैंअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण व्यवस्थापन मिलाउन निर्देशन दिएका छन्।
देशमा विषम परिस्थिति आइपरेको भन्दै मुख्यमन्त्री कार्कीले यी सबै परिस्थितिको सामना गरेर काम गर्नका लागि आग्रह गरेका हुन्। मुख्यमन्त्री कार्कीले घटनालाई नेपालको इतिहासमै सबैभन्दा ठुलो भौतिक क्षतिको घटनाको रूपमा चित्रण गरेका छन्। ‘विभिन्न राजनीतिक आन्दोलन र विरोधका कार्यक्रमहरू भए, तर यति ठुलो र सर्वाधिक क्षति कहिल्यै भएको थिएन’ उनले भनेका थिए, ‘यो घटनाले प्रदेशलाई ठुलो नोक्सान भएको छ यसले हामीलाई २० वर्ष पछाडि धकेलेको छ।’
त्यस अवसरमा उनले प्रदेश सरकार सञ्चालनमा आएको घोषणा गर्दै असोज २ गते मन्त्रिपरिषद्को बैठक बसेर थप निर्णयहरू गर्ने जानकारी दिएका छन्। सो छलफलमा प्रदेशका सचिवहरूले मन्त्रालयगत क्षतिको विवरण प्रस्तुत गर्दै बाँकी रहेको अवस्थाबाटै केही दिनभित्र सेवा सुचारु गर्ने जानकारी दिएका थिए। कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले प्रदेशको वस्तुस्थितिको बारेमा जानकारी गराएकी छिन्।