सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन्। संसद् विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासामा सभामुख घिमिरेले यस्तो बताएका हुन्।
जेन जेड आन्दोलनका क्रममा जलेको संसद् भवन अनुगमन गर्न पुगेका सभामुख घिमिरेले भने, ‘जे घटनाहरू देशमा घट्यो, हामीले जे व्यहोरिरहेका छौँ, यो ज्यादै दुखद् कुराहरू हो। यसबाट उठेर ठिक ढंगबाट अगाडि जानु सबैको दायित्व छ।’
अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेको भन्दै उनले अब यसलाई समाधान गर्ने गरी जान सक्नुपर्ने बताए।
व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको भन्दै सभामुख घिमिरेले यसको समीक्षा गर्ने र देशलाई उठाउन लागि आम मान्छे, आम जनता, आम क्षेत्र सबै लाग्नु पर्ने बताए।