प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलनलाई मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टि, जनचेतनाको वृद्धि र युवापुस्ताको चाहनाको प्रतिविम्ब भएको बताइन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा आज आयोजित मूल समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले संविधानको मर्मअनुसार सुशासन, समृद्धि र विकासका क्षेत्रमा देखिएका कमीकमजोरी र त्यसबाट उत्पन्न असन्तोष, अभाव र अपेक्षापूर्ति नहुनु नै आन्दोलनको मूल कारण रहेको स्वीकार गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब हो। यस आन्दोलनलाई मैले हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरेको छु किनभने लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो।”

उनका अनुसार रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काममा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचार अन्त्य, सुशासन र विकास जस्ता सवाल केवल युवापुस्ताका माग मात्र नभई सम्पूर्ण नेपालीको साझा एजेन्डा हुन्। उनले यी मागहरूलाई आत्मसात गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता जनाइन्।

जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनःनिर्माण, व्यवसायिक प्रतिष्ठानमा परेको असरबाट देशलाई माथि उठाउनुपर्ने चुनौतीको चर्चा गर्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको मनोबल उच्च राख्नुपर्नेमा जोड दिइन्। उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले संविधान दिवसलाई केवल उत्सव मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने अवसरका रूपमा लिनुपर्ने बताइन्। उनले विगतका जनआन्दोलनदेखि हालसम्मको संघर्षले ल्याएको संविधान नेपाली जनताको भविष्य र आकांक्षाको मार्गदर्शक दस्तावेज भएको दोहोर्याइन्।

उनले संविधान दिवसका अवसरमा हालैको जेनजी आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारलाई समवेदना प्रकट गरिन्। साथै आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरिन्।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।