सिराहा जिल्लाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको छ।
चार दिनदेखि बेपत्ता रहेका अभिषेकको शव सोमबार बिहान करिब ६ बजे घरदेखि १०० मिटर पूर्व, जनता आधारभूत विद्यालय नजिकै आँपको रुखमुनि क्षतविक्षत अवस्थामा फेला परेको हो। शव सडेर दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरिएको थियो।
प्रारम्भिक अनुसन्धानमा खुट्टाको छाला पिल्सिएको, शरीरमा नीलडाम रहेको र हत्या पश्चात् शवमा आगो लगाइएको वा एसिड खन्याइएको हुन सक्ने आशङ्का गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक अनन्तकुमार शर्माले घटनालाई अपहरणपछि हत्या भएको स्पष्ट देखिएको बताएका छन्। उनका अनुसार मधेश प्रदेश प्रहरी मुख्यालयबाट फरेन्सिक विज्ञ र तालिमप्राप्त कुकुरसहितको टोली ल्याएर सूक्ष्म अनुसन्धान भइरहेको छ।
अभिषेक असोज ५ गते राति ८ः३० बजे खाना खाएर घर बाहिर निस्केपछि बेपत्ता भएका थिए। भोलिपल्ट बिहान उनकी आमाको इमो खातामा अपहरणकारीले ५ करोड रुपैयाँ फिरौती माग्दै सन्देश पठाएका थिए। परिवारले तत्कालै प्रहरीमा उजुरी दिए पनि जीवित उद्धार सम्भव नभएको आफन्तले बताएका छन्।
७ वर्षअघि बुबा सञ्जय सिंहको करेन्ट लागेर मृत्यु भएपछि अभिषेक परिवारको एक मात्र उत्तराधिकारी थिए। उनी विद्यालय पढाइ छाडेर परिवारकै सिटी रिक्सा र ट्रयाक्टर चलाउने गरेका थिए।

बालकको निर्मम हत्या भएपछि डंग्राहा गाउँ शोकमग्न र त्रसित बनेको छ। गाउँभर रुवाबासी छाएको छ भने स्थानीयले सुरक्षा सङ्कट बढेको महसुस गरिरहेका छन्।
प्रहरीका अनुसार घटनामा संलग्न अपराधीलाई पक्रेर कानुनी दायरामा ल्याइने छ।