कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन्। 
विश्वास र माया गुरुङ फिल्मका चर्चित नायक/नायिका हुन्। उनीहरू फिल्ममा अनुबन्ध भएको निर्माण पक्षले बुधवार सार्वजनिक गरेको हो।
विश्वासले ‘तिमी नभए’, ‘म्हो’, ‘कुटम्बेरी साइनो’, ‘फिच्यो’ र ‘सिरसुवा’मा अभिनय गरेका छन्। मायाले भने ‘ह्युल’ ‘च्यागी’, र ‘घलेक’मा अभिनय गरेकी छन्।
नेपाली फिल्ममा यी दुवैको डेब्यू हो। उनीहरू महत्त्वपूर्ण भूमिकामा अनुबन्ध भएको निर्माण पक्षले बताएको छ। यसअघि नै फिल्मको शीर्ष भूमिकामा नायक दयाहाङ राई अनुबन्ध भइसकेका छन्।
यो फिल्मको छायाङ्कन कात्तिकबाट सुरु गर्ने योजनामा माओत्से रहेका छन्।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा बन्न लागेको यो फिल्मको छायाङ्कन पोखरा आसपासको क्षेत्रमा हुने बताइएको छ।