मेडिकल व्यवसायी दुर्गा प्रसाईले केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरूलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमा आफ्ना धारणाहरू राख्दै उनले शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपहरूलाई कानुनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र दोषी ठहरिएमा कानुन अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका छन्।
त्यस्तै, उनले विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल नहुने भन्दै छठपछि व्यवस्था परिवर्तनका लागि हुने शान्तिपूर्ण महाआन्दोलनमा सहभागी हुन पनि आव्हान गरेका छन्।
प्रसाईंले लेखेका छन् ः
देशको स्वाभिमान र स्वतन्त्रता जोगाउन विदेशी एजेन्टहरू र लुसिफरजस्ता विनाशकारी विचार बोकेका व्यक्तिहरूलाई देशबाट हटाउनु जरुरी छ। देशमा राजा, धर्म र संस्कृति नहुने हो भने त्यो देश दिशाहीन बन्छ। राजा राष्ट्रको प्रतीक हुन्, धर्म नैतिकताको आधार हो र संस्कृति हाम्रो पहिचान जब यी तत्त्व हराउँछन्, जनतामा अनुशासन, एकता र सम्मान हराउँछ। जसरी खेतमा धान माड्दा मियो नभए धान खेर जान्छ, त्यसैगरी देशमा राजा, धर्म र संस्कृति नभए समाज विखण्डित र मूल्यहीन हुन्छ। हाम्रो परम्परा, संस्कार र आस्था नै हाम्रो वास्तविक शक्ति हुन्।
त्यसैले प्रहरीले भ्रष्टाचारमा संलग्न भएको आरोप उठेका गम्भीर प्रश्नहरूमाथि कडाइका साथ, निष्पक्ष र कानुनी छानबिन गरी जवाफदेही बनाउन आवश्यक छ। विशेष गरी केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरू तुरुन्त पक्राउ गरेर तिनीहरूका विरुद्ध उठेका आरोपहरूलाई कानुनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्दछ र दोषी ठहरिएमा कानुन अनुसार कारबाही हुनुपर्छ — लिनुपर्ने कदम सम्झौतामुखी होइन, न्यायसम्मक हो।
साथै, शान्ति–सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गर्ने, प्रहरी चौकी पोस्ट जलाउने, प्रहरीलाई निर्घात कुटपिट गर्ने र सिंहदरबारदेखि सर्वोच्च अदालतजस्ता ऐतिहासिक तथा संवैधानिक सम्पदामा आगो लगाउने जस्ता हिंसात्मक कार्यहरू हामी स्वीकार गर्न सक्दैनौँ। यस्ता आपराधिक घटनामा संलग्नहरूलाई तुरुन्तै कानुनअनुसार कारबाही गरिनुपर्छ र कुनै प्रकारको अपवाद, छुट वा सहमति हुन सक्दैन , ऐतिहासिक सम्पदा नष्ट गर्ने गराउने कुनै पनि सच्चा नेपाली हुन सक्दैन, नेपालीको प्रतिनिधित्व हुन सक्दैन।
विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल हुँदैन, हुन दिइँदैन , छठपछि बेवास्था परिवर्तनका लागि हुने शान्तिपूर्ण महाआन्दोलनमा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई एकताबद्ध भएर देश भरिबाट राजधानी केन्द्रित भएर शान्तिपूर्ण ढङ्गले सहभागी भएर आवाज उठाउन हार्दिक अपिल गर्दछौँ। हाम्रो आवाज साँच्चै न्याय र संस्कृति बचाउने उद्देश्यले हुनेछ। नेपाली हामी रहौँला कहाँ नेपालै नरहे।