जेनजी आन्दोलनलाई दिशानिर्देश गरेर क्रान्तिमा बदल्न योगदान दिएको भन्दै जेनजी युनाइटेडले आज एक विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति धन्यवाद ज्ञापन गरेको छ। 

वक्तव्यमा भनिएको छ, ‘जेनजी आन्दोलनको क्रममा उत्पन्न अन्योलताका बीच प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सही दिशानिर्देश गर्ने र आन्दोलनलाई क्रान्तिमा रूपान्तरण गर्न दृढ अडान लिने युवा नेता श्री बालेन्द्र शाहलाई जेनजी युनाइटेड हार्दिक धन्यवाद ज्ञापन गर्दछ।’

संगठनका केन्द्रीय संयोजक किरण विकद्वारा जारी वक्तव्यमा बालेन शाहको भूमिकालाई ‘ऐतिहासिक र निर्णायक’ भन्दै सराहना गरिएको छ। विकका अनुसार साहले आन्दोलनका विभिन्न चरणमा युवालाई संयम, संवाद र शान्तिपूर्ण परिवर्तनतर्फ उन्मुख गराउने नेतृत्व प्रदर्शन गरेका थिए।

युनाइटेड जेनजीले भदौ २३ र २४ को आन्दोलनलाई नेपाली जनताको साहस र दमनविरुद्धको प्रतिरोधको प्रतीकका रूपमा व्याख्या गर्दै राष्ट्रपति, प्रधानमन्त्री, सेनापति र सुरक्षा संस्थाहरूप्रति पनि आभार प्रकट गरेको छ।

विज्ञप्तिमा सबै जेनजी समूह र नागरिकलाई ‘युनाइटेड जेनजी नयाँ नेपाल निर्माणको हातेमालो’ अभियानमा सहभागी हुन आह्वान गरेको छ।