अखिल नेपाल किसान महासंघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा किसानलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै मेयर साहले आफ्नो फेसबुक स्टाटसमार्फत किसानलाई “किसानझैँ फोहर” भनेर तुलना गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षर गरेको विज्ञप्तिमा किसान समुदायको आत्म–सम्मानमा चोट पुर्याउने गरी गरिएको यस्तो अभिव्यक्ति अत्यन्त निन्दनीय र अस्वीकार्य रहेको उल्लेख छ।
महासंघले मेयर साहलाई सो स्टाटस तुरुन्त हटाएर किसानसँग सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ। साथै, माफी नमागिए थप विरोध कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ।