अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट निवेदनहरु पेश हुने क्रम बढेको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन् भने अरु निवेदनहरु पनि पेश हुने क्रममा छन्।
‘तीमध्ये केही रिट निवेदनमा सरकार गठनको प्रक्रियामा प्रश्न उठाएको देखिन्छ, केहीमा प्रतिनिधिसभा विघटनमाथि प्रश्न उठेका छन्’ उनले भने, ‘एकपछि अर्को रिट निवेदनहरु पेश भइरहेकाले कुनमा कस्तोमा माग छ भनेर यकिन गरिसकेका छैनौं, त्यसमाथि अरु निवेदन पनि आइरहेका छन्।’
गत भदौको जेन–जी प्रदर्शनका कारण आगजनीबाट ध्वस्त भएपछि सर्वोच्च अदालतको कामकारवाही प्रभावित भएको थियो। गत आइतबारको पूर्ण बैठकले रिट निवेदनहरु दर्ता खुला गर्ने निर्णय गरेपछि रिट दर्ता हुने क्रम जारी छ।
गत भदौ २३ र २४ गते जेनजी युवा प्रदर्शनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संसद विघटन भएको थियो।
त्यसपछि जेनजी युवा प्रतिनिधिको सिफारिसमेतको आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की असोज २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्। उनी नेतृत्वको सरकारले २१ फागुनमा आम निर्वाचन गराउने म्यान्डेड पाएको छ।
