हामी नेपाल नामक संस्थाका संयोजक सुधन गुरुङले ‘जेनजी’ले राखेका माग पूरा नभई निर्वाचन हुन नसक्ने बताएका छन्। बिहीबार बिहान काठमाडौंको लैनचौरस्थित खड्का ल्यान्ड प्रालिले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा निर्मित संरचना हटाउने प्रयोजनका निम्ति त्यहाँ पुगेका उनले यस्तो बताएका हुन्।
केहीबाहेकका सबै जेनजी एक ठाउँमा रहेका उनले उल्लेख गरे। उनले जेनजीका माग पूरा गरिनुपर्नेमा जोड दिए।
जेनजीका माग पूरा नभए अर्को आन्दोलन हुने उनले चेतावनी दिए। यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने उनले बताए।
“समग्र हामी जेनजीहरूको टिम एक ठाउँमा छ। एकदुईजना तलमाथि हुनुहुन्छ, उहाँहरूलाई नै बोलाउँछौँ,” उनले भने, “माग पूरा नभईकन कसरी चुनाव हुन्छ ? यो सबै कुरा गृहमन्त्रीज्यूले जिम्मा लिनुपर्छ।”
जेनजीका हरेक वार्तामा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास उनले दिलाएका भए पनि त्यसानुसार काम नभएको गुरुङको भनाइ थियो।
“उहाँ (ओमप्रकाश अर्याल) हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो। राष्ट्रपति कार्यालयमा संविधानविद् भनेर मलाई चिनाइएको हो। माग पूरा हुन्छरहुँदैन उहाँहरूलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे,” उनले भने, “यो सबै भएन भने धोका दिनुभएको हो हामीलाई। अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ।”
आफूहरूका माग पूरा नभए गृहमन्त्रीले धोका दिएको ठहर हुने उनले बताए। गृहमन्त्रीले जेनजीका माग पूरा गर्न छाडेर निर्वाचनको रटान लगाएको उनको टिप्पणी छ।




















