नेकपा एमालेकी नेतृ तथा पूर्वसंसद सदस्य शान्ता चौधरीले सञ्चालनमा ल्याएको ‘शान्ताको अचार’ पसलमा मध्यराति आगजनी हुँदा ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। घटनापछि उनले तत्काल दोषी पत्ता लगाई कडा कारबाही गर्न माग गरेकी छन्।
वीरेन्द्रनगर–६ स्थित सुपरमार्केटमा अवस्थित उक्त पसलमा शुक्रबार मात्र व्यवसाय सुरु गरिएको थियो। तीन दिन नबित्दै आज बिहान करिब ३ बजे पसलमा आगो लागेको हो।
प्रहरीका अनुसार आगो असलको कारण नजिकै रहेको ‘बेबी शप’ मा विद्युत् सर्ट भई सुरु भएको र त्यसपछि फैलिँदै शान्ताको अचार पसलसम्म पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
आगोका कारण पसलमा रहेको सामग्री, सजावट र स्टक पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।
नेतृ चौधरीले सामाजिक सञ्जालमार्फत घटनालाई शंकास्पद बताउँदै भनेकी छन्, “जिन्दगीको हरेक प्रयासमा आगो लागिरहन्छ। कुन अपराधीले अचार आउटलेटमा आगो लगाइदियो, तत्काल पत्ता लगाई कारबाही गर्नुहोस्।”
स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।




















