इटहरी । नेपाल लेयर्स कुखुरा पालक संघ सुनसरी–मोरङको प्रथम अधिवेशन तथा साधारण सभाबाट अध्यक्षमा होमनाथ बास्कोटा पुनः सर्वसम्मतिले निर्वाचित भएका छन्।
शनिबार इटहरीस्थित लायन्स क्लबको भवनमा सम्पन्न कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रिय अध्यक्ष विनोद पोखरेल प्रमुख अतिथि रहेका थिए। अधिवेशनबाट अध्यक्ष बास्कोटा, उपाध्यक्ष उमेश थापा, महासचिव धनशेर लिम्बू, सचिव माधव प्रसाद डोटेल, कोषाध्यक्ष फरेन्द्र कुमार लिम्बू तथा सदस्य दिपक लामिछानेलगायत ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत मतदानबाट चयन गरिएको हो।
अधिवेशनमा संघका अध्यक्ष होमनाथ बास्कोटा र महासचिव धनशेर लिम्बूले प्रगतिविवरण प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले कुखुरा व्यवसायीका हक–हितका लागि संघले महत्वपूर्ण भूमिका निभाइरहेको उल्लेख गर्दै संगठनलाई अझ सुदृढ बनाउन सुझाब दिए।
नवनिर्वाचित अध्यक्ष बास्कोटाले केन्द्रसँग निरन्तर समन्वय गर्दै अण्डाको मूल्य लागतअनुसार किसानलाई प्राप्त हुने व्यवस्था सुनिश्चित गर्न, बजार नियन्त्रण तथा मूल्य समायोजनका लागि प्रभावकारी बजार अनुगमन गर्ने योजनाबारे जानकारी गराए।
कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमाल, संघका केन्द्रिय महासचिव भेषराज अर्याल, सल्लाहकार त्रिलोचन कट्टेल, पशुपन्छी विकास महाशाखा प्रमुख दिपा दियालीसहित विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




















