झापामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। गौरादह नगरपालिका–१, गैरीयाचोकनजिक अटो दुर्घटना हुँदा ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो।
कात्तिक २१ गते साँझ गैरीयाचोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नम्बरको अटो धान लोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नम्बरको मिनिट्रकको पछाडि ठोक्किएको थियो।
दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए। उनको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ।
सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खातुन गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा आइतबार राति विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।




















