जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. मोरङको ३२ औँ वार्षिक साधारणसभा बेलबारी–३ स्थित सङ्घको सभाहलमा शनिवार सम्पन्न भएको छ।
नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभाको उद्घाटन गर्दै नेतृत्वको होडबाजी गर्दा अभियान नै अप्ठ्यारोमा परेको बताउनुभयो।
प्रमुख अतिथि समेत रहनु भएका ढकालले भन्नुभयो – हिजो छुट्टै बचत ऐन माग्यौँ।अहिले सरकारले बचत ऋणको कारोबार गर्ने सहकारीका लागि छुट्टै मापदण्ड ल्यायो ,त्यो मापदण्डमा केही त्रुटि छन्। तर, मापदण्ड र निर्देशन सँगै कर्जा सूचना केन्द्र ,असुली न्यायधिकरण जस्ता आवश्यक विषयहरू समेटिएका छन्। प्रारम्भिक संस्थालाई अप्ठ्यारो परेको भए अझै पनि ” लविङ” गर्न सकिने बताउँदै कसैको पद जोगाउन वा सधैँ पदमा रहिरहने गरी ऐन,मापदण्ड र निर्देशन परिमार्जन गर्नुपर्ने भनाइ प्रति आफू असहमत रहेको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो। प्रारम्भिक संस्था वा सङ्घ, के को नेतृत्व गर्ने प्रष्ट हुन आग्रह गर्दै सबै तिर म भए ठिक अन्यथा सबै बेठिक भन्ने सोचबाट नेतृत्व माथि उठ्न पर्छ ,अन्यथा अभियान नै अप्ठ्यारोमा पर्छ,उहाँले एक व्यक्तिले धेरै तिर नेतृत्व गर्न आवश्यक नरहेको ओैंल्याउनुभयो।
प्रदेश सहकारी सङ्घ कोशीका अध्यक्ष डा. डिल्ली पोख्रेलले सरकारले विभिन्न समयमा ल्याएका विभिन्न नामका कानुन ,मापदण्ड र निर्देशनले अभियानलाई सङ्कटमा पारेको बताउनुभयो।नेफ्स्कुन पूर्व सञ्चालक एवम् सङ्घका सल्लाहकार गोमा नेपालले सङ्घमा महिला शेयर सदस्यको अनुपातमा सञ्चालकको सङ्ख्या निर्धारण गर्नुपर्ने सुझाव दिनुभयो। साधारणसभाको अवसरमा सङ्घले विगत वर्षमा जस्तै यो वर्षमा पनि एक जनालाई ‘सहकारी व्यक्तित्व सम्मान’ गरेको छ। यस वर्ष सङ्घका सल्लाहकार एवम् नेफ्स्कुनका पूर्व सञ्चालक गोमा नेपाललाई सहकारी व्यक्तित्व सम्मान प्रदान गरिएको छ। प्रमुख अतिथि ढकाल र अध्यक्ष प्रेमप्रकाश कोइरालाले उहाँलाई नगदसहित सम्मान पत्र प्रदान गर्नुभयो। उहाँ उर्लाबारी–७ स्थित नारी सङ्कल्प बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत हुनुहुन्छ।
यस्तै, पूर्व सञ्चालक सम्मानबाट गङ्गाकुमार यादव र इच्छा कोइरालालाई सम्मान गरिएको छ। यादव हाल केरौन साकोसको अध्यक्ष हुनुहुन्छ, भने कोइराला तत्कालीन जनएकता साकोसको कोषाध्यक्ष हुनुहुन्थ्यो। यादव र कोइरालाले दुई र दुई कार्यकाल सञ्चालक भएर बचत सङ्घमा योगदान पुर्याउनु भएको थियो।
कर्मचारी तर्फको पुरस्कारबाट दौँतरी बलिया साकोस सुन्दरहरैँचाका व्यवस्थापक लोकेन्द्र काफ्ले र जनमुखी साकोस कानेपोखरीका ऋण सहायक दुर्गाकुमारी पौडेल पुरस्कृत गरिएको छ। हरेक वर्ष दुई वटा सहकारी संस्थालाई पुरस्कार प्रदान गरिँदै आएको छ। यो वर्ष बेलबारीको बेतना साकोस र उर्लाबारीको महिला उत्थान साकोसलाई पुरस्कृत गरिएको छ।सङ्घका अध्यक्ष प्रेमप्रकाश कोइरालाको सभापतित्वमा भएको साधारणसभामा सचिव जीवन बस्नेतद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष डिवी बस्नेतद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक बिना राईद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र लेखा परीक्षक राजेन्द्र सुवेदीले प्रस्तुत गर्नुभएको बाह्य लेखा परीक्षण प्रतिवेदन पारित भएको छ।
साधारणसभामा नेफ्स्कुनका सञ्चालक लक्ष्मी सापकोटा, प्रदेश बचत सङ्घका अध्यक्ष हरिप्रसाद सुवेदी,संस्थापक अध्यक्ष चन्द्रप्रसाद गौतम ,सहकारी सञ्जाल बेलबारीका अध्यक्ष दुर्गाप्रसाद गौतम र सल्लाहकारहरूको उपस्थिति रहेको थियो।
सङ्घले साधारणसभा सभाकै अवसरमा शनिवार नै आइपीडिएस कार्यक्रम र बचत समाचारको अनलाइन न्यूजपोर्टलको शुभारम्भ गरेको छ।२०५१ वैशाख २० गते स्थापित जिल्ला बचत सङ्घमा हाल १ करोड ४९ लाख १३ हजार ५ सय रुपैयाँ सेयर पुँजी रहेको छ। २४ लाख ८८ हजार ३५९ रुपैयाँ ४६ पैसा, कोष हिसाबमा ७ लाख ५ हजार ७० रुपैयाँ ५९ पैसा लगानी हिसाब ३४ लाख ४२ हजार ४५१ रुपैयाँ १५ पैसा स्थिर सम्पत्ति रहेको छ। यस्तै, जगेडा कोषमा ६५ लाख ४५ हजार २०५ रुपैयाँ ९६ पैसा, बचत निक्षेप १४ करोड २९ लाख ५३ हजार ४५९ रुपैयाँ ०७ पैसा र १ करोड ९० लाख ९० हजार २७७ रुपैयाँ ८० पैसा ऋण लगानी रहेको छ। सङ्घको कुल सम्पत्ति १७ करोड २४ लाख ९९ हजार २४५ रुपैयाँ रहेको छ।




















