विराटनगर। नेपाली कांग्रेस कोशी प्रदेश कमिटीले आगामी निर्वाचनका लागि जिल्ला कार्यसमितिबाट सिफारिस भई आएका उम्मेदवारहरूको नामावलीमा ‘कैँची’ चलाएको छ। विशेषगरी तेह्रथुम जिल्लाले प्रतिनिधिसभाका लागि महामन्त्री गगनकुमार थापाको नाम मात्रै सर्वसम्मत सिफारिस गरेको भए तापनि प्रदेश कमिटीले त्यसलाई उल्ट्याउँदै निवर्तमान सांसद सिता गुरुङको नाम थपेर केन्द्रमा पठाएको हो। गुरुङ गत निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुने नेपाली कांग्रेसकी एक्ली महिला सांसद हुन्।

उम्मेदवार सिफारिसको यो विषयले प्रदेश कमिटी र जिल्लाबीचको गहिरो मतभेदलाई सतहमा ल्याएको छ। प्रदेशका उपसभापति रमेशजंग रायमाझीले गगन थापाको नाम मात्रै पठाउनुलाई ‘गुट बनाएर गरिएको स्टन्ट’ को संज्ञा दिएका छन्। उता, प्रदेशका प्रमुख सचिव नारायण कोइरालाले भने जिल्लाबाट आधिकारिक रूपमा ईमेलमार्फत कुनै नाम प्राप्त नभएको दाबी गरेका छन्। उनले फेसबुकमा नामहरू सार्वजनिक भएको देखे पनि आधिकारिक जानकारी नभएका कारण प्रदेश समितिले साविककी सांसद सिता गुरुङको एकल नाम सिफारिस गरेको बताएका छन्। कोइरालाका अनुसार जिल्ला सभापति स्वयं प्रदेशको बैठकमा उपस्थित भएर ‘नाम पठाउँदिनँ’ भनेका थिए, जसका कारण प्रदेशले आफ्नै विवेक प्रयोग गरी गुरुङको नाम पठाएको हो। यद्यपि, तेह्रथुम कांग्रेसका सचिव सन्तोष सुब्बाले भने नाम प्रदेशमा पठाइसकिएको दाबी गर्दै प्रदेशले सिता गुरुङको नाम थपेको विषयमा आफू अनभिज्ञ रहेको बताएका छन्।

तेह्रथुममा गगन थापा समूहको वर्चस्व रहेका कारण जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरूको संयुक्त बैठकले थापाको नाम मात्रै सिफारिस गरेको थियो। जिल्लाले संस्थापन पक्षकी सिता गुरुङको नाम समावेश नगर्नुको पछाडि पूर्व सांसद तुलसी सुब्बामाथिको कारबाहीलाई मुख्य कारण मानिएको छ। गगन थापा निकट सुब्बालाई गत निर्वाचनमा सिता गुरुङलाई हराउन भूमिका खेलेको आरोपमा अनुशासनको कारबाही गरिएको थियो। उनको कारबाही फुकुवा नभएको र पुनरावेदन केन्द्रमा विचाराधीन रहेकाले जिल्ला कमिटीले गुरुङलाई उपेक्षा गर्दै थापाको नाम मात्र पठाएको बुझिएको छ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाको नाम भने राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरिएको छ। सक्रिय राजनीतिमा फर्कने र आगामी महाधिवेशनमा केन्द्रित हुने उद्देश्यले थापाले केही दिनअघि मात्रै सल्लाहकार पदबाट राजीनामा दिएका थिए। उनको गृहजिल्ला धनकुटाबाटै नाम सिफारिस भई आएकाले प्रदेश कमिटीले थापाको नाम जस्ताको त्यस्तै केन्द्रमा पठाएको प्रमुख सचिव कोइरालाले जानकारी दिए। २०७९ चैतमा सल्लाहकार नियुक्त हुनुअघि थापा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए।

फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि तेह्रथुम जिल्लाले प्रत्यक्षतर्फ गगन थापाको नाम पठाए पनि समानुपातिकतर्फ भने ७ जनाको नाम बुझाएको थियो। जसमा कृष्णमान तुम्बाहाम्फे, डिल्लीराम नेपाल, विजय सम्बाहाम्फे, रुद्र कन्दङ्वा, बसन्ती सुब्बा गुरुङ, शारदा कोइराला र शनिषा भेटवाल रहेका छन्। जिल्लाको सिफारिसलाई प्रदेशले हेरफेर गरेपछि अबको अन्तिम निर्णय केन्द्रले कसरी गर्छ भन्नेमा सबैको चासो बढेको छ।