शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अभिभावकहरूले जोडदार आन्दोलन नगरेसम्म विद्यालयहरू सुधार गर्न गाह्रो हुने बताएका छन्।

'नेपालभरिका धेरै विद्यालयहरूमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतीकरण हटाउन स्थानीय अभिभावकहरू एकजुट भएर जोडदार आन्दोलन नगरेसम्म र कडा चेतावनीहरू नदिएसम्म सुधार हुन गाह्रो छ,' मन्त्री पुनले फेसबुकमा लेखेका छन्।

मन्त्री पुनले त्यस्तो अधिकार संविधानले नै अभिभावकहरूलाई दिएको पनि उल्लेख गरेका छन्। 'त्यसो गर्ने पूर्ण अधिकार संविधानले अभिभावकहरूलाई दिएको छ,'उनले लेखेका छन्।

विद्यालय सुधारका लागि शिक्षा मन्त्रालयले दिएको निर्देशनले मात्र नपुग्ने भएकाले अभिभावकहरू नै जाग्नुपर्ने उनको भनाइ छ। 'शिक्षा मन्त्रालयले मात्र काठमाडौंबाट निर्देशन दिएर नपुग्ने भयो,' मन्त्री पुनले लेखेका छन्,'लौ त स्थानीय अभिभावकहरू आफ्नो छोराछोरीहरूको भविष्यको लागि जाग्नुहोस्।'