सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटमा पेट्रोलबाट सल्किएको आगलागीमा एक महिलाको घटनास्थलमै ज्यान गएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन्।

धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको भान्सा कोठामा आइतबार अपरान्ह आगलागी हुँदा बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको ज्यान गएको छ। 

भान्सामा प्रयोग भएको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

घटनामा दुर्गामान बम्जनसमेत घाइते भएका छन्। उनको दाहिने हात, दाहिने खुट्टा र ढाडको भागमा आगोले गम्भीर रूपमा जलाएको प्रहरीले जनाएको छ। घाइते बम्जनको जिल्ला अस्पताल सिन्धुलीमा प्राथमिक उपचार थप उपचारका लागि काठमाडौं रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ। उनी प्यारालाइसिसका बिरामी हुन्।

स्थानीय बासिन्दाले आगलागी भएको खबर प्रहरीलाई दिए लगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

घटनास्थलमा प्रारम्भिक मुचुल्का, शव परीक्षणका प्रक्रिया तथा प्रमाण सङ्कलनको काम सम्पन्न भइसकेको छ भने घटनाको कारण र अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।